नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ जेठ ।
आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । आज (शनिबार) बिहान भएको खेलमा नेपाल युएईसँग १० विकेटले पराजित हुन पुग्यो ।
मलेसियाको यूकेएम ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ ओभर १ बलमा अलआउट हुँदै ८ रनमा समेटिएको थियो । नेपालका लागि कुनै खेलाडीले दोहोरो अंक समेत छुन सकेनन् । नेपालका लागि स्नेहा महराले ३ मनिसा रानाले २ रन बनाए भने किरण कुवर, अन्जली विश्वकर्मा र अनु कडायतले समान १–१ रन जोडे । युएईका लागि माहिका गौरलले ५ विकेट लिइन् भने इन्दुजा नजाकुमारको नाममा ३ विकेट रह्यो ।
९ रनको लक्ष्य लिएर मैदान उत्रेको युएईले १ ओभर १ बलमा विकेट नगुमाउदै पूरा गर्यो । युएईका लागि थ्रेथा सितास ४ र लाभन्ने केनिया ३ रनमा अविजित रहे । पहिलो खेलमा कतारलाई पराजित गरेको नेपालले दोस्रो खेलमा भने पराजित हुन पुग्यो । टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । अब नेपालले तेस्रो खेल आगामी सोमबार भुटानविरुद्ध, चौथों खेल मंगलबार थाइल्याण्डसँग र पाँचौं खेल आगामी बिहीबार आयोजक मलेसियाविरुद्ध खेल्नेछ ।