नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ जेठ ।
आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले दोस्रो जित निकालेको छ । आज (सोमबार) भएको खेलमा नेपालले भुटानलाई ४ विकेटले पराजित गरेको हो ।
मलेसियाको किनरारा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६६ रन बनाएको थियो । भुटानका लागि कप्तान एन्गावाङ छोडेन र सांगे वाङ्मोले समान ११-११ रन बनाए । त्यस्तै पेमा याङ्चेनले ९ रन बनाई आउट भइन् भने छाडो ओमले ६ रन जोडिन् । नेपालको लागि कृतिका मरासिनी, अनु कडायत र मनिषा कुमारी उपाध्यायले समान २-२ विकेट लिए ।
६७ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले १३ ओभर १ बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको लागि सानु राजवंशीले अविजित रहँदै ३० रन जोडिन् भने साना प्रविनले १२ रन बनाईन् । यस्तै सृष्टि जैसी ८ रन बनाई आउट भइन् भने एलिशा कुमारी यादव २ रनमा अविजित रहिन् । भुटानका लागि सांगे वाङ्मोले ३ विकेट लिइन् भने अन्जुली घली र सोनमको भागमा समान १-१ विकेट रह्यो । जितसँगै नेपाल ३ खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ भने समान खेलमा अंक विहिन रहेको भुटान तालिकाको पुछारमा रहेको छ ।
नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित भएको थियो । युएईसँगको खेलमा नेपाल ८ रनमै अलआउट भएको थियो । टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । अब नेपालले चौथों खेल मंगलबार थाइल्याण्डसँग र पाँचौं खेल आगामी बिहीबार आयोजक मलेसियाविरुद्ध खेल्नेछ ।