नेपाल थाइल्याण्डसँग पराजित

विश्वकप पुग्ने सपना अधुरै

आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । आज (मंगलबार) भएको खेलमा नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको हो । हारसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना सकिएको छ ।

मलेसियाको युकेएम ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८९ रन बनाएको थियो । थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले २० रन बनाईन् भने बान्थिदा लेप्हाथानाले १९ र सुवानन खिओतोले १६ रन जोडिन् । नेपालको लागि मनिषा कुमारी उपाध्याय र कृतिका मरासिनीले समान २-२ विकेट लिए भने स्नेहा महराको भागमा १ विकेट रह्यो ।



९० रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल १९ ओभर ५ बलमा अलआउट हुँदै ४० रनमा समेटियो ।नेपालका लागि सृष्टि जैशीले अविजित रहँदै ७ रन बनाईन् भने साना प्रविनले ६, अनु कडायतले ५ रन जोडिन् । नेपालको तर्फबाट कोही पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् । थाइल्याण्डका लागि नन्थिता बोसुखामले ३ विकेट लिईन् ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित हुँदा हिजो भएको खेलमा भुटानलाई ४ विकेटले पराजित गरेको थियो । नेपाल ४ खेलमा २ जित र २ हारसहित ४ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा छ भने समान खेलमा ८ अंक जोडेको थाइल्याण्ड तालिकाको दोस्रो स्थानमा रहेको छ । टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । अब नेपालले अन्तिम तथा पाँचौं खेल आगामी बिहीबार आयोजक मलेसियाविरुद्ध खेल्नेछ ।

सम्बन्धित समाचार