नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ जेठ
एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गतको खेलमा नेपाल र जोर्डन भिड्दै छन् । कुवेतको जाबिर अल अहमद स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।
नेपाल जोर्डनविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने योजना सहित मैदान उत्रदै छ भने उता जोर्डन पनि नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा रहेको छ । नेपाल नियमित कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी विना मैदान उत्रदैछ । अहिले नेपाली टोलीमा युवा खेलाडीको बाहुल्यता रहेको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० सिनियर खेलाडीले बन्द प्रशिक्षणको क्याम्प छाडेपछि एसियन कप छनोटको तेस्रो चरण अन्तर्गतको खेलमा सिनियर खेलाडीको सहभागिता रहेको छैन । आज नेपाल नवयुग श्रेष्ठको कप्तानीमा मैदान उत्रने छ । छनोटको समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया रहेका छन् । त्यस्तै दोस्रो खेल नेपालले जेठ २८ गते घरेलु टोली कुवेतसंग र तेस्रो तथा अन्तिम खेल जेठ ३१ गते इन्डोनेसियाविरुद्ध खेल्नेछ । समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ ।