नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ जेठ ।
एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । बुधबार राति भएको खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको हो ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा भएको एकतर्फी खेलमा जोर्डनका लागि अलि ओल्वन र हाम्जा अल दारदौरले समान १-१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा जोर्डनले दोस्रो हाफमा २ गोल गरेको थियो । खेलको ६९ औं मिनेटमा ओल्वनले गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८२ औं मिनेटमा हाम्जाले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई २-० को जित दिलाए ।
जोर्डनी खेलाडी मोहमद सुलेमानलाई नेपालका डिफेन्डर सुमन अर्यालले पेनाल्टी बक्सभित्र लडाएपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो । त्यसअघि खेलको ४३ औं मिनेटमा जोर्डनले पहिलो पेनाल्टी पाएको थियो । नेपालका डिफेन्डर गौतम श्रेष्ठले मिडफिल्डर मोहमद फैजललाई पेनाल्टी बक्स भित्र लडाएपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो । तर नेपालका गोलकिपर दीप कार्कीले जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाएका थिए ।
जितसँगै जोर्डनले पहिलो खेलमा ३ अंक जोडेको छ भने नेपालले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । छनोटको समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया रहेका छन् । अब नेपालले दोस्रो खेल नेपालले जेठ २८ गते घरेलु टोली कुवेतसँग र तेस्रो तथा अन्तिम खेल जेठ ३१ गते इन्डोनेसियाविरुद्ध खेल्नेछ । समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ ।