नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ जेठ ।
आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ । आज (बिहीबार) भएको खेलमा नेपालले मलेसियालाई २५ रनले रनले पराजित गरेको हो । नेपाल यसअघि नै विश्वकपमा छनोट हुन असफल भएको थियो ।
प्रतियोगितामा युएईसँग १० विकेटले र थाइल्याण्डसँग ४९ रनले पराजित भएको नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले र तेस्रो खेलमा भुटानलाई ४ विकेटले पराजित गरेको थियो । मलेसियाको बाँगीस्थित युकेएम वाईएसडी क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ७ विकेट गुमाउँदै ८६ रन बनाएको थियो । नेपालका लागि ओपनर अन्जली विश्वकर्माले ३३ रन बनाइन् भने आस्मा पुलामी मगरले २८ रन जोडिन् । त्यस्तै सृष्टी जैशी, सानु राजवंशी र अनु कठायत समान ३-३ रन जोडे । मलेसियाका लागि नुर अबेदुल सामेदले २ विकेट लिइन् भने एल्सा हन्टरको भागमा १ विकेट रह्यो ।
८७ रनको लक्ष्य लिएर मैदान उत्रेको मलेसिया निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६१ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि एल्सा हन्टरले २८ रन बनाइन् । नेपालको लागि कृतिका मरासिनीले २ विकेट लिइन् भने मनिषा कुमारी उपाध्यायको भागमा १ विकेट रह्यो । जितसँगै नेपालले प्रतियोगितामा सुखद अन्त्य गरेको छ । नेपाल ५ खेलमा ३ जित र २ हारसहित ६ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका थिए ।