नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ जेठ ।
एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गतको दोस्रो खेलमा नेपाल र घरेलु टोली कुवेत भिड्दै छन् । कुवेतको जाबिर अल अहमद स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १० बजे सुरु हुनेछ ।
नेपाल कुवेतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने योजना सहित मैदान उत्रदै छ भने उता घरेलु टोली कुवेत पनि नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा रहेको छ । बुधबार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो भने इन्डोनेसियाले कुवेतलाई हराएको थियो । नेपाल नियमित कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी विना मैदान उत्रदैछ । अहिले नेपाली टोलीमा युवा खेलाडीको बाहुल्यता रहेको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० सिनियर खेलाडीले बन्द प्रशिक्षणको क्याम्प छाडेपछि एसियन कप छनोटको तेस्रो चरण अन्तर्गतको खेलमा सिनियर खेलाडीको सहभागिता रहेको छैन । आज नेपाल नवयुग श्रेष्ठको कप्तानीमा मैदान उत्रने छ । छनोटको समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया रहेका छन् । आज कुवेतविरुद्ध दोस्रो खेल खेल्न लागेको नेपालले तेस्रो तथा अन्तिम खेल जेठ ३१ गते इन्डोनेसियाविरुद्ध खेल्नेछ । समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ ।