नेपालद्वारा ओमान पराजित

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा जारी त्रिदेशीय सिरिजमा नेपाल विजयी भएको छ । बुधबार बिहान सम्पन्न खेलमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको हो । नेपाल अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिजका लागि अमेरिकामा रहेको छ ।

टेक्ससस्थित मोसा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६ ओभर ५ बलमा अलआउट हुँदै १६३ रन बनाएको थियो।
ओमानका लागि कप्तान जिशन मक्सुदले ५२ रनको अर्धशतकीय पारी खेले भने सन्दीप गौडले ४७ रन जोड्दा जतिन्दर सिंहले २३ रन बनाए ।नेपालको लागि करण केसीले ५ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले ३ विकेट लिँदा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीको भागमा समान १-१ विकेट रह्यो ।



१६४ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ३३ ओभर १ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आसिफ शेख र कुशल भुर्तेलले अर्धशतकीय पारी खेल्दै क्रमश: ६२ र ५६ रन बनाए । यस्तै रोहित पौडेल २६ रनमा अविजित रहे भने देव खनाल १० रन जोड्दा दिपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहे । ओमानका फायज बुटले २ विकेट लिए भने खवर अलिको भागमा १ विकेट रह्यो । नेपालले ओमानविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो ।

जितसँगै नेपाल १५ खेलमा १५ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ । ३६ खेलमा ४४ अंक जोडेको ओमान शीर्ष स्थानमा रहेको छ ।सिरिज अन्तर्गत नेपालले अन्तिम खेलमा आज अमेरिकाविरुद्ध खेल्नेछ ।

सम्बन्धित समाचार