नवकान्तिपुर संवाददाता
काठमाडौं, २ असार ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल पराजित भएको छ । बिहीबार बिहान सम्पन्न भएको खेलमा नेपाल घरेलु टोली अमेरिकासँग ३९ रनले पराजित भएको हो ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २४५ रन बनाएको थियो । अमेरिकाका लागि गजानन्द सिंह र सुशान्त मोदानीले अर्धशतकीय पारी खेल्दै क्रमश: ५८ र ५४ रन बनाए भने आरोन जोन्सले ४३ रन जोडे । त्यस्तै सैटिजा मुक्कामल्ल ३६ रन बनाई आउट भए भने निसर्ग पटेल १८ र क्यामरुन स्टेभेनसन १६ रनमा अविजित रहे । नेपालको लागि करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिँदा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीको भागमा समान १-१ विकेट रह्यो ।
२४६ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल ४७ ओभर ४ बलमा अलआउट हुँदै २०६ रनमा समेटियो । नेपालका लागि आरिफ शेखले ६३ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै सोमपाल कामी ४७ रन बनाई आउट भए भने देव खनालले ३४ रन जोड्दा आसिफ शेखले १८, रोहित पौडेल १६ र कुशल भुर्तेलले १० रन बनाए । अमेरिकाको लागि अलि खान र सौरभ नेत्राभाल्करले समान ३-३ विकेट लिए ।
जितसँगै घरेलु टोली अमेरिकाले सिरिजमा सुखद अन्त्य गरेको छ भने नेपालले हारसहित सिरिजको अन्त्य गरेको छ। यी दुई टोलीबीचको पहिलो खेल बराबरी भएको थियो । सिरिज अन्तर्गत पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको नेपालले तेस्रो खेलमा भने ओमानलाई ७ विकेट पराजित गरेको थियो । अमेरिका २४ खेलमा २३ अंक जोड्दै तालिकाको चौंथो स्थानमा छ भने १६ खेलमा १५ अंक जोडेको नेपाल पाँचौं स्थानमा रहेको छ ।