नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असार ।
अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन भएको छ । आज (बुधबार) को प्रतिनिधिसभाको बैठकले संसदीय छानबिन समिति गठन गरेको हो ।
त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत राजनीतिक दलका सचेतकहरूसँग छलफल गरेका थिए । छानबिन समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्ममणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरला कुमारी यादव, सीताराम महतो र सुरेन्द्र प्रसाद यादव रहेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्रीको विषयमा छानबिन गर्न समिति बनाउन माग गर्दै आएको थियो । अर्थमन्त्री शर्मालाई बजेट प्रस्तुत गर्नुभन्दा अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै उनले अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा उक्त दिनको सीसीटीभी फुटेज पनि मेटाइएको आरोप लागेको छ । एमालले संसदमा सशक्त रूपमा कुरा उठाउँदै अर्थमन्त्री शर्माको राजीनामा माग्दै आएको छ ।