‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण’

प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले काठमाडौँ उपत्यकाको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा सभापति गजुरेलले विगतका वर्षको तुलनामा उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार आएको बताउनुभयो ।

“विगतका वर्षको तुलनामा उपत्यकामा ट्राफिक व्यवस्थापन निकै राम्रो भएको छ । सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिका प्रशंसनीय छ”, उहाँले भन्नुभयो, “सडक सुरक्षा सुनिश्चित गर्न सबैले ट्राफिक नियमको पालना गर्न आवश्यक छ ।”

सभापति गजुरेलले बढ्दो सवारी चापलाई ध्यानमा राख्दै ट्राफिक व्यवस्थापनका लागि थप जनशक्ति परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सुरक्षित आवागमनका लागि सम्बन्धित निकायबीच निरन्तर सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको औँल्याउनुभयो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सडक सुरक्षा, ट्राफिक नियमको पालना, सवारी दुर्घटना न्यूनीकरण तथा पैदलयात्रीको सुरक्षाका लागि ट्राफिक प्रहरी अहोरात्र खटिरहेको बताउनुभयो ।

उहाँले ट्राफिक प्रहरी कर्मचारीले सेवामा प्रवेश गर्दा लिएको शपथअनुसार देश र नागरिकको सेवामा प्रतिबद्ध भएर काम गर्नुपर्ने उल्लेख गर्दै व्यक्तिगत रिसिवी नराखी निष्पक्ष र जिम्मेवार ढङ्गले कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

साथै, आर्थिक अनियमिततामा शून्य सहनशीलता अपनाउनुपर्ने र सरकारबाट प्राप्त सेवा सुविधाप्रति असन्तुष्टि भए वैकल्पिक बाटो रोज्न सकिने उहाँको भनाइ थियो ।

प्रमुख काफ्लेले सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा दुर्घटनामुक्त यातायात प्रणाली विकासका लागि जनचेतनामूलक कार्यक्रम र अन्तरक्रियालाई निरन्तरता दिइएको जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागीले सवारी दुर्घटना कम गर्नका लागि चालक, पैदलयात्रीलगायत सबै सडक प्रयोगकर्ताले आफ्नो जिम्मेवारी पूरा गर्दै ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत ५०६ ट्राफिक प्रहरी अधिकृत तथा कर्मचारीको सहभागिता रहेको थियो ।(रासस)

सम्बन्धित समाचार