अर्थमन्त्री शर्माको राजीनामाको विषयमा यसो भने प्रचण्डले

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको विषयमा ब्रिफिङ गरेका छन् । आज (बिहीबार) राजधानीको प्रज्ञा भवनमा सुरु भएको बैठकमा उनले अर्थमन्त्री शर्माको राजीनामाको विषयमा ब्रिफिङ गरेका हुन् ।

अध्यक्ष दाहालले अर्थमन्त्रीको राजीनामा दिएर पार्टीले नैतिकता र त्यागको सन्देश दिएको बताएका छन् । उनले राजीनामा नदिएको भए यसै विषयलाई उचाल्दै गठबन्धनलाई नै अप्ठ्यारोमा पार्ने षड्यन्त्र भएको बताए । प्रचण्डले शर्माले राजीनामा दिएर राजनीतिक संस्कार देखाएको दाबी गरे।



‘अर्थमन्त्रीले आफूले केही गरेको छैन भन्नुभएको छ। संसदमा कुरा उठेपछि उहाँँले प्रष्ट कुरा राखेर संसदमा नैतिकता प्रदर्शन गर्नुभएको छ । राजीनामा नगरेको भए त्यै विषयलाई भ्रमित पार्दै र उचाल्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धन अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन भयो । त्यो डिजाइनलाई त्यागद्वारा जवाफ दिइएको छ’ प्रचण्डले भने, हामीले त्याग, वैधानिक र राजनीतिक पहलकदमीबाट जवाफ दिएका छौँ ।’ उनले राजीनामाले एउटा सन्देश गएको भन्दै यसबाट नैतिकता, त्याग र वैधानिक तरिकाले प्रश्नको समाधान गर्नेबारे आम कार्यकर्ता र जनतालाई पनि प्रशिक्षित भएको बताए ।

अर्थमन्त्री शर्माले बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । उनले छानविन समितिलाई काम गर्न मार्ग प्रशस्त गर्न भन्दै राजीनामा दिएको बताएका थिए । शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको र अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा उक्त दिनको सीसीटीभी फुटेज पनि मेटाइएको आरोप लागेको छ ।

सम्बन्धित समाचार