नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ असार ।
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (बिहीबार) दिउँसो २ बजेबाट नयाँवानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो ।
आजको बैठकमा विभिन्न विधेयकमा छलफल हुने कार्यसूची रहेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/२०७८’ पेस गर्ने, गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यसैगरी बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ सम्बन्धी समितिको प्रतिवेदन र विधेयकका दफाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने, गृहमन्त्री बालकृष्ण खाँणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैगरी खानेपानी मन्त्री उमाकान्त चौधरीले ‘विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको खानेपानी तथा सरसफाइ विधेयक, २०७५’ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै आजको बेठमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ छलफल र पारितका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
भिडियो –
भिडियो साभार – House of Representatives Nepal प्रतिनिधि सभा नेपाल