नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ असार ।
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । जापानको नारा शहरमा आयोजित एक कार्यक्रममा सम्बोधन गरिरहेको बेला उनीमाथि गोली प्रहार भएको थियो ।
उनीमाथि पछाडिबाट गोली प्रहार भएको हो । गोली लागेपछि उनी बेहोस अवस्थामा रहेको जापानी मिडियाहरुले जनाएका छन् । जापानी समाचार एजेन्सी एनएचकेका अनुसार आबेलाई पछाडिबाट गोली लागेको र भाषण गर्दागर्दै ढलेको जनाएको छ ।
आबेलाई गोली लागेको ठाउँबाट रगत बगिरहेको र उनलाई हृदयाघात भएको हुनसक्ने अनुमान छ । उनलाई थप उपचारको लागि जापानको नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको छ । उनको अवस्था गम्भीर रहेको छ । आबे माथि गोली प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
लोकप्रिय मानिएका मध्येका युवा पूर्वप्रधानमन्त्री आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री रहेका थिए । आबेले सन् २०२० मा आफ्नो स्वास्थ्य अवस्था देखाउदै प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।