नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असार ।
भारतले इंग्ल्यान्डविरुद्धको टी-२० सिरिज जितेको छ । शनिबार राति भएको दोस्रो खेलमा घरेलु टोली इंग्ल्यान्डलाई ४९ रनले पराजित गर्दै भारतले एक खेल अगाबै सिरिज जितेको हो ।
भारतले तीन खेलको सिरिज एक खेल बाँकी रहदै २-० ले आफ्नो पक्षमा पारेको हो । इंग्ल्यान्डको बर्मिनघममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन बनाएको थियो । भारतका लागि रविन्द्र जेडेजाले अविजित रहँदै ४६ रन जोडे भने कप्तान रोहित शर्माले ३१ रन बनाए । त्यस्तै ऋषव पन्त २६ बनाई आउट भए भने सूर्यकुमार यादवले १५ रन जोडे । इंग्ल्यान्डका लागि क्रिस जोर्डनले ४ विकेट लिए भने रिचार्ड गिल्सनको भागमा ३ विकेट रह्यो ।
१७१ रनको लक्ष्य लिएर मैदान उत्रेको इंग्ल्यान्ड १७ ओभरमा अलआउट हुँदै १२१ रनमा समेटिएको थियो । इंग्ल्यान्डका लागि मोइन अलीले ३५ रन जोड्दा डेविड विलि ३३ रनमा अविजित रहे । यस्तै डेभिड मालन १९ रन बनाई आउट भए भने लियाम लिभिङस्टोनले १५ रन जोडे ।भारतका लागि भुवनेश्वर कुमारले ३ विकेट लिए भने जस्प्रित बुमराह र युजभेन्द्र चाहलको भागमा समान २-२ विकेट रह्यो ।
यसअघि भएको पहिलो टी-ट्वान्टीमा भारतले इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको थियो । यी दुई टोलीबीचको तेस्रो तथा अन्तिम टी-२० खेल आज (आइतबार) हुनेछ ।