नवकान्तिपुर संवाददाता
काठमाडौं, २० कार्तिक।

नेपालमा आयोजना हुन लागेको आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।
अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले शुक्रबार सार्वजनिक गरेको तालिकाअनुसार घरेलु टोली नेपालले डिसेम्बर ४ तारिखमा इटलीसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
नेपालले प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेल डिसेम्बर ६ तारिखमा युगाण्डासँग खेल्ने तालिका छ । त्यसपछि नेपालले डिसेम्बर १० मा युनाइटेड अरब इमिरेट्स (यूएई), डिसेम्बर १२ मा जर्सी र डिसेम्बर १४ मा क्यानडासँग मैदानमा उत्रिनेछ । त्यस्तै, नेपालले डिसेम्बर १८ मा नामिबिया र डिसेम्बर २१ तारिखमा कुवेतविरुद्ध खेल्ने तालिका छ ।
यस प्रतियोगितामा नेपालसहित आठ राष्ट्रको सहभागिता रहनेछ । आइसिसी क्रिकेट विश्वकप लिग–२ को पुछारमा रहेका नेपाल, नामिबिया, क्यानडा र युएईसँगै च्यालेन्ज लिगबाट छनोट भएका इटाली, कुवेत, युगान्डा र जर्सीले प्रतिस्पर्धा गर्नेछन् ।
अङ्क तालिकाको शीर्ष चार स्थानमा रहने टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप ग्लोबल क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गर्नेछन् ।

