अन्तत: श्रीलंकाका राष्ट्रपति राजीनामा दिन सहमत

प्रधानमन्त्रीद्वारा पनि राजीनामा दिने घोषणा

अन्तत: श्रीलंकाली राष्ट्रपति गोटाबाया राजपाक्षेले राजीनामा दिने भएका छन् । उनले आगामी जुलाईको १३ तारिखमा आफ्नो पदबाट राजीनामा दिन सहमत भएका हुन् ।

राष्ट्रपति राजपाक्षेले श्रीलंकाली संसदका सभामुख महिन्दा यापा अविवर्दनालाई सो कुराको जानकारी गराएका छन् । उनले शनिबार सभामुख अविवर्दनासँग आफूले जुलाई १३ मा राजीनामा गर्ने जानकारी गराएका सभामुख अविवर्दनाको कार्यालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।



श्रीलंकाका विभिन्न राजनीतिक दलहरुले गरेको मागका आधारमा राष्ट्रपति गोटाबायाले यो निर्णय गरेको जानकारी सभामुखको कार्यालयले प्रकाशन गरेको सो विज्ञप्तिमा जनाइएको छ । यसअघि प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि आफ्नो पदबाट राजीनामा दिने बताइसकेका छन् । प्रधानमन्त्री विक्रमासिंघे र राष्ट्रपति गोटबायाले नै पद त्याग गर्नुपर्ने माग श्रीलंकाका राजनीतिक दलहरुले संसदमा गरिरहेका थिए । सोही मागका आधारमा उनीहरुले पद त्याग गर्ने निर्णय गरेका बताइएको छ ।

उता शनिबार नै राष्ट्रपति गोटबाया र प्रधानमन्त्रीको निवास र कार्यालयमा प्रदर्शनकारीहरु प्रवेश गरेका थिए । उनीहरुले प्रधानमन्त्री विक्रमासिंघेको घरमा आगजनी समेत गरेका छन् । उता राष्ट्रपति गोटाबायाले पनि शनिबार नै आफ्नो सरकारी निवास छोडेका श्रीलंकाका सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।

सम्बन्धित समाचार