नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असार ।
आईसीसी पुरुष विश्वकप लिग -२ अन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियाविरुद्ध खेल्दैछ । आज (सोमबार) हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
विश्वकप लिग -२ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाल अहिले स्कटल्याण्डमा रहेको छ । नेपाल आज नामिबियालाई पराजित गर्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा रहेको छ भने नामिबिया पनि नेपाललाई पराजित गर्दै सिरिजमा पहिलो जित दर्ता गर्ने सुरमा रहेको छ । आइतबर भएको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डले नामिबियालाई ७७ रनले पराजित गरेको थियो ।
सिरिजअघि नेपालले क्यानडाको भ्रमण गरेको थियो । नेपालले क्यानडामा घरेलु टोलीसँग एकदिवसीय सिरिज खेलको थियो भने क्यानडाको स्थानीय टोलीसँग दुई अभ्यास खेल खेलेको थियो । जसमा नेपाल एकदिवसीय खेलमा क्यानडासँग पराजित भएको थियो भने अभ्यास खेलमा भने विजयी भएको थियो ।
नेपालले सिरिजमा स्कटल्याण्ड र नामिबियाविरुद्ध समान २-२ खेल्नेछ । आज नामिबियाविरुद्ध पहिलो खेल खेल्न लागेको नेपालले , दोस्रो खेल जुलाई १३ मा स्कटल्याण्डसँग, तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ मा र चौथों तथा अन्तिम खेल जुलाई १७ मा स्कटल्याण्डसँग खेल्ने तालिका छ । नेपाल १६ खेलबाट १५ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ भने २१ खेल खेलेको स्कटल्याण्ड ३० अंक सहित दोस्रो स्थानमा रहेको छ । यसैगरी १५ खेलमा १४ अंक जोडेको नामिबिया छैटौं स्थनमा रहेको छ ।