नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ असार ।
घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्धको दोस्रो एकदिवसीय खेलमा विजयी भएको छ । बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले भारतलाई १०० रनले पराजित गर्दै शानदार जित निकालेको हो ।
लर्ड्समा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४९ ओभरमा सबै विकेट गुमाउँदै २४६ रन बनाएको थियो । इंग्ल्यान्डका लागि मोईन अलिले ४७ रन बनाए भने डेबिड विलिले ४१ रन जोडे । त्यस्तै जोनी बेस्ट्रो ३८ रन बनाई आउट भए भने जेसन रोयले २३ र बेन स्टोक्सले २१ रन बनाए । भारतका लागि युजभेन्द्र चाहलले ४ विकेट लिए भने जसप्रित बुमराह र हार्दिक पाण्ड्याले समान २-२ विकेट लिँदा मोहम्मद सामी र प्रसिद्ध कृष्णाको भागमा समान १-१ विकेट रह्यो ।
२४७ रनको लक्ष्य लिएर मैदान उत्रेको भारत ३८ ओभर ५ बलमा अलआउट हुँदै १४६ रनमा समेटिएको थियो । भारतका लागि हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले समान २९-२९ रन बनाए भने सूर्यकुमार यादवले २७ रन जोडे । यस्तै मोहम्मद सामी २३ रन बनाई आउट भए भने विराट कोहलीले १६ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।
इंग्ल्यान्डको लागि रिच टप्लिले ६ विकेट लिए भने ब्रान्डन क्रासी, डेबिड विलि, मोईन अलि र लियम लिभिङस्टोनको भागमा समान १-१ विकेट रह्यो । जितसँगै इंग्ल्यान्डले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । यसअघि भएको पहिलो एकदिवसीय खेलमा भारतले इंग्ल्यान्डलाई १० विकेटले पराजित गरेको थियो । दुई टोलीबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आइतबार हुनेछ ।