नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ साउन ।
संसदीय समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बयान लिएको छ। आज(बिहीबार) संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिएको हो ।
समितिले सिंहदरबारमा शर्मालाई बयानका लागि बोलाएको थियो । बयानका क्रममा शर्माले करको दर हेरफेर गरेर देशका लागि घात हुने काम नगरेको दाबी गरेका छन् । उनले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको दोहोर्याउदै नियम कानुन र तोकिएको मापदण्ड अनुसार नै करका दर हेरफेर गरेको बताए ।
समितिले यसअघि मन्त्रालयका अर्थ सचिव र राजस्व सचिव, सहसचिव र अन्य कर्मचारीसँग सोधपुछ गर्दै सीसीटीभीको हार्डडिस्क नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाउने निर्णय समेत गरेको छ । गत असार २२ गते प्रतिनिधि सभाका सांसदहरू सम्मिलित ११ सदस्सीय विशेष छानबिन समिति गठन भएको थियो । छानबिन समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्ममणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरला कुमारी यादव, सीताराम महतो र सुरेन्द्र प्रसाद यादव रहेका छन् ।
छानबिन समिति गठन भएपछि समितिलाई सहयोग गर्ने भन्दै अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा सशक्त रूपमा कुरा उठाउँदै अर्थमन्त्री शर्माको राजीनामा माग्दै आएको थियो । शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । त्यस्तै उनले अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा उक्त दिनको सीसीटीभी फुटेज पनि मेटाइएको आरोप लागेको छ । एमालले संसदमा सशक्त रूपमा कुरा उठाउँदै अर्थमन्त्री शर्माको राजीनामा माग्दै आएको थियो ।