नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ साउन ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भीमदत्त पन्तको नाम लिँदा नेपाली काँग्रेसलाई सिरिङ्ग हुने बताएका छन् । आज (शनिबार) नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
त्यस्तै उनले जातका आधारमा नभई जो पहिले मारियो उसैलाई पहिलो शहीद मान्नु पर्ने बताएका छन् । उनले भने, ‘भीमदत्त पन्तलाई काँग्रेसले शहीद मानेन । किनभने उसै(काँग्रेस)ले टाउको कटाएको थियो । काँग्रेसलाई भीमदत्तको नाम लिँदा सिरिङ्ग हुन्छ ।’ उनले भिमदत्त र विद्यार्थी नेता चिनियाँ काजीको नाम लिँदा काँग्रेसको आङ सिरिङ्ग हुने भन्दै दुर्गानन्द झाले राजा महेन्द्रको गाडीमाथि बम हान्दा त्यसको जिम्मेवारी पनि काँग्रेसले नलिएको आरोप लगाए ।
यस्तै अध्यक्ष ओलीले देशको परिवर्तनकारी र बलियो शक्ति पुष्पलाल श्रेष्ठले नै स्थापना गरेको पार्टी नेकपा एमाले रहेको दाबी गरेका छन् ।उनले नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाउने बताएका छन् । अध्यक्ष ओलीले देशको सबैभन्दा सचेत, संगठित, सबल, विस्तृत, परिवर्तनकारी शक्ति नेकपा एमाले नै रहेकोले पार्टीलाई अझै सशक्त बनाएर लैजाने बताए ।
‘आज देशको सबैभन्दा सचेत, संगठित, सबल, विस्तृत, परिवर्तनकारी शक्ति र सबभन्दा सबल शक्तिको रुपमा, सबभन्दा बलियो शक्तिको रुपमा पुष्पलाले स्थापना गर्नुभएको नेकपा एमाले यो ठाउँमा छ । म यस पार्टीको अध्यक्ष भएको हैसियतमा भन्न चाहन्छु, पुष्पलाल र अरु अग्रजहरुले देखाएको बाटोबाट अलिकति पनि विचलित हुनेछैन । नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने, फेरि आज संकल्प दोहार्याएको छु,’ ओलीले भने ।