भीम रावलले सरकार कहाँ छ ? यो देशमा छ, कि कतै छ ? भनी प्रश्न गरेपछि…

नेकपा एमालेका सांसद भीमबहादुर रावलले नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता सम्बन्धमा अमेरिकालाई पत्र लेखेको अवस्थाको बारेमा संसदलाई जानकारी दिन सरकारले ध्यान नदिएको बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले यस्तो बताएका हुन् ।

उनले पत्र पठाए, नपठाएको सम्बन्धमा संसदमा जानकारी गराउन सभामुखले गरेको निर्देशन पनि सरकारले नमानेको भन्दै सभामुख र संसदीय समितिको निर्देशन सरकारले नसुनेको भन्दै उनले सरकारले श्रवणशक्ति गुमाएको बताए । एसपीपी सम्झौता कार्यान्वयन नगर्ने सम्बन्धी अमेरिकालाई पत्र पठाउन सभामुख सापकोटाले निर्देशन गरेको ५ दिन बितिसक्दा पनि सरकारले ध्यान नदिएको आरोप लगाए ।



‘एसपीपीको सम्बन्धमा सरकारको निर्णयको कार्यान्वयनको अवस्था र पत्र पठाएको अवस्थाको सम्बन्धमा के छ भनेर सदनलाई जानकारी गराउनको लागि सभामुखले निर्देशन दिनुभएको आज पाँच दिन बित्यो । सरकार कहाँ छ ? यो देशमा छ ? कि कतै छ ? अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय नमान्ने ? समितिले असार ५ गते नै निर्देशन दिएको थियो । सार्वभौम सदनमा सभामुखले दिएको निर्देशन समेत नसुन्ने ? सरकारले कान नसुन्न कहिलेदेखि श्रवणशक्ति गुमायो ? भन्ने प्रश्न उठ्छ कि उठ्दैन ?’

त्यस्तै उनले भारतले सेनाका लागि ल्याएको नयाँ योजना ‘अग्निपथ योजना’ अन्तर्गत नेपाली युवालाई गोर्खा सैनिकमा भर्ती गरेमा गोर्खा भर्ती सन्धि खारेज गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् । गोर्खा भर्ती सन्धिअनुसार भारतीय सेनामा भर्ती हुने नेपालीको हकमा उक्त प्रावधान लागू होला कि नहोला भनेर उनले प्रश्न गरे । उनले यसबारे सरकारलाई जानकारी छ कि छैन, भारत सरकारसँग कुरा गरेको छ कि छैन भने प्रश्न गरे । ‘भारतले अग्निपथ योजना गोर्खा भर्तीको सन्दर्भमा लागू हुन्छ कि हुन्न ? त्यसो गरिएमा गोर्खा भर्ती सन्धिको उल्लंघन हुन्छ । त्यसो गरिएमा नेपालले गोर्खा भर्ती सन्धि खारेजको बाटोमा जानुपर्छ ‘ उनले भने ।

 

 

सम्बन्धित समाचार