नवकान्तिपुर संवाददाता
काठमाडौं, १० साउन ।
साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४-० ले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको हो ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको एकतर्फी खेलमा नेपाललाई जित दिलाउन दिपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीले समान १-१ गोल गरे । खेलको ४२ औं मिनेटमा दिपेशले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा नेपालले थप ३ गोल गर्यो ।
दोस्रो हाफको ५८ औं मिनेटमा सुगमले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए । त्यस्तै खेलको ६२ औं मिनेटमा कृतिसले पेनाल्टीमा गोल गरेपछि नेपाल ३-० ले अघि रह्यो । नेपालका कप्तान आयुसलाई माल्दिभ्सका डिफेन्डरले पेनाल्टी क्षेत्रमा फउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा मनग्यले गोल गर्दै नेपाललाई ४-० को सहज जित दिलाए ।
साफ यू-२० च्याम्पियनसिपमा नेपालसहित भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । अब नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध बुधबार, भारतसँग आइतबार र अन्तिम खेल बंगलादेशसँग मंगलबार खेल्नेछ । प्रतियोगिताका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् ।