नवकान्तिपुर संवाददाता
काठमाडौं, १० साउन ।
संसदीय विशेष छानविन समितिले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नताका विषयमा नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त विवरणमा आधारित भएर अध्ययन सुरु गरेको छ । आज (मंगलबार) बिहान बसेको समितिको बैठकले प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त विवरणमा आधारित भएर अध्ययन सुरु गरेको बताएको हो ।
बजेट निर्माणका बेला अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भनी गठित छानबिन समितिले अर्थमन्त्रालयमा डिलिट गरिएको भनिएको सिसीटिभी फुटेजको हार्डडिस्कनेपाल प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो । समिति सचिव सुरेन्द्र अर्यालले प्रयोगशालाबाट प्राप्त विवरणका सम्बन्धमा अध्ययन सुरु गरिएको जानकारी दिए । उनले भने, ‘प्राविधिक विषयमा थप जानकारी लिन हामीले सम्बन्धित अधिकारीलाई बोलाएका छौँ । समितिको बैठक अपराह्न ४ बजे पुनः बस्नेछ ।’
शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । त्यस्तै उनले अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा उक्त दिनको सीसीटीभी फुटेज पनि मेटाइएको आरोप लागेको छ । एमालले संसदमा सशक्त रूपमा कुरा उठाउँदै अर्थमन्त्री शर्माको राजीनामा माग्दै आएको थियो ।
उक्त विषयमा छानबिन गर्न गत असार २२ गते प्रतिनिधि सभाका सांसदहरू सम्मिलित ११ सदस्सीय विशेष छानबिन समिति गठन भएको थियो । छानबिन समिति गठन भएपछि समितिलाई सहयोग गर्ने भन्दै अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए ।