नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ साउन ।
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले प्रदेशका पूर्व निर्धारित बैठकको समय परिवर्तन गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।
नेपाली जन प्रगतिशील मञ्चको निमन्त्रणामा आगामी साउन २१ देखि २५ गतेसम्म अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान भ्रमणमा जाने भएकाले पूर्व निर्धारित प्रदेशस्तरीय बैठकको समय परिवर्तन गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताए ।
महराले बैठकले प्रदेश १ को बैठक २६ गते, मधेस प्रदेशको २ गते, लुम्बिनी प्रदेशको २९ गते र सुदूरपश्चिमको बैठक ४ गते प्रवासको बैठक ६ गते, विशेष प्रदेशको बैठक ४ गते र सम्पर्क मञ्चको बैठक ८ गते बस्ने जानकरी दिए । त्यसअघि पार्टी पदाधिकारीका बारेमा टुंगो लगाउन स्थायी कमिटीको बैठक भने साउन १५ गते बस्ने तय भैसकेको छ ।
यसअघि माओवादी केन्द्रले साउन १६ गते बागमती प्रदेश, १८ गते गण्डकी प्रदेश, २० गते प्रदेश १, २२ गते लुम्बिनी प्रदेश, २८ गते सुदूरपश्चिम प्रदेश, २९ गते कर्णाली प्रदेश, ३० गते विशेष प्रदेश, भदौ १ गते सम्पर्क समन्वय र ३ गते प्रवासको प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको थियो ।