नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ साउन ।
जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुने भएका छन् । आज (आइतबार) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।
उनी आजै अर्थमन्त्रीमा नियुक्त हुने र उनको शपथ पनि आजै साँझ हुने माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले छानबिन समितिलाई सहयोग गर्ने भन्दै गत असार२२ गते राजीनामा दिएका थिए ।
तर छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार एक प्रतिवेदन सार्वजनिक गर्दै शर्मालाई निर्दोष ठहर गरेको थियो ।संसदीय विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको थियो । अर्थ मन्त्रालयका पदाधिकारीसँग गरेको छलफल, प्राप्त कागजात र सीसीटीभी फुटेजको अध्ययनमा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको समितिको निष्कर्ष निकालेको हो ।