विप्लवविरुद्ध पक्राउ पुर्जी जारी

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’विरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । आज (सोमबार) ललितपुर जिल्ला अदालतले उनीसहितका नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा अदालतले विप्लवसहित खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, केन्द्रीय सदस्यहरू शंखर दमाई, मोहन बहादुर कार्की, सुरेश रानामगर, भरतबहादुर बम, टेकबहादुर केसी, पदम राई, उदयबहादुर चलाउने, नविन विश्वकर्मालगायतलाई पक्राउ पुर्जी जारी गरेको हो ।



अदालतले उनीहरुलाई ३५ दिन भित्र अदालतमा हाजिर हुन आदेश दिएको छ । उनीहरूमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ता तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको ललितपुर जिल्ला अदालतले जनाएको छ । तत्कालीन केपी ओली नेतृत्वको सरकार र विप्लवबीच २०७७ साल फागुन २१ गते भएको तीन बुँदे सहमति भएको थियो । सहमतिमा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने, पक्राउ परेका कैदीबन्दीको रिहाइ गर्न र उनीहरुविरुद्धका मुद्दा खारेज गर्ने रहेको थियो ।

सम्बन्धित समाचार