नवराज घिमिरे
काठमाडौं, २१ साउन ।
नेपाली काँग्रेसका युवा नेता पूर्व संविधान सभा सदस्य तथा पूर्व जिल्ला सभापति जगदीश्वरनसिंह केसीले जिम्मेवार नेताले फेसबुकमा आफ्नो उम्मेदारी घोषणा गरेको देखेर आफु लज्जित भएको बताएका छन् । शनिवार काठमाडौंको एक कार्यक्रममा बोल्दै नेता केसीले उक्त कुरा बताएका हुन् ।
पार्टीले निर्वाचन मङ्सीर ४ गते मिति मात्र घोषणा गरेको हो, उम्मेद्वारको चयन प्रक्रियामा पार्टी पुगेकै छैन । आफूले आफैंलाई स्वघोषित रुपमा फेसबुकमार्फत उम्मेदवार घोषणा गरेको देख्दा लाज लागेको बताएका हुन् । पार्टीले आधिकारीक उम्मेदवार नबनाएसम्म पार्टी प्रवक्ता जस्तो जिम्मेवार नेतालाई बोल्न नसुहाउने र बोले पनि कुनै अर्थ नहुने, आफ्नै पनि गरिमा घट्ने नेता केसीको कथन छ ।
पार्टी प्रवक्ता प्रकाशरण महतले केही दिन अघिमात्र आफ्नै निवासमा केही अनलाइन मिडिया र यु–ट्युबरहरु बोलाएर आफू नुवाकोटको क्षेत्र नं. १ बाट प्रत्यक्षमा चुनाव लड्न चाहेको बताएका थिए । पार्टी प्रवक्ताको नाम नलिइ नेता केसीले भने– ‘दुईचारवटा अनलाइनमा समाचार लेखेर उम्मेदवार होइने भए म भोलि ५०औं अनलाइनमा लेख्न लगाँऊ ? तर म त्यस्तो गर्दिन । मेरो लेबल पनि त्यो होइन । म त्यस्तो गतिविधि गर्न पनि चाहान्न । पार्टीले आधिकारीक उम्मेद्वार घोषणा नगरेसम्म कोही उम्मेदवार हुँदैन । जिम्मेवार पदमा बसेको मान्छेले यस्तो हर्कत गरेको सुहाउँदा पनि सुहाउँदैन ।’
उनले नुवाकोटको दुई क्षेत्रमध्ये एक क्षेत्रबाट आफू प्रत्यक्षमा चुनाव लड्न चाहेको बताँउदै नेता केसीले अरुभन्दा आफू कुनै हिसाबले कमजोर नभएको पनि दाबी गरे । स्रोतका अनुसार केसीको दाबीलाई स्वाभाविक मानिन्छ, किनकि केसीको पक्षमा नुवाकोटमा संगठन बलियो छ । महत र केसी प्यानलमा विभाजित नुवाकोट काँग्रेसको जिल्लामा केसी प्यानलको पहुच राम्रो मानिन्छ । त्यसैले आफ्नो जनआधार बलियो रहेको केसीको दावी छ ।
नेता केसीले अगाडि भने ‘पाएसम्म संघमै लड्ने तर कुन क्षेत्र भन्नेचाहिँ अहिले भन्दिन, म जुन सुकै क्षेत्रमा पनि लड्न सक्छु ।’ पार्टी प्रवक्ता महतप्रति व्यङ्ग्य गर्दै उनले भने– महत धेरै पटक चुनाबमा पराजित भए पनि शक्तिले तानेर माथि लगिएको हो । उनले सुझावको रूपमा भने– पटक पटक जनताबाट अस्वीकृत भइसकेको मानिसले फेरि चुनाब नलडेको राम्रो ।