नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ साउन ।
नेकपा एमालेका उपमहासचिव एवं सांसद प्रदीप ज्ञवालीले तत्काल इन्धनको मूल्य घटाउन माग गरेका छन् । आज(आइतबार) प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद ज्ञवालीले यस्तो माग गरेका हुन् ।
उनले भारतीय आयल निगमले २ पटक ३१ रुपैयाँ मूल्य घटाउँदा पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाएको उल्लेख गर्दै उपभोक्ताले महँगोमै इन्धन किन्नुपर्ने अवस्था रहेको बताए । उनले नाफा जति आयल निगमको पोल्टामा घाटा हुँदा त्यसको भार उपभोक्ताकामा, यो कहाँको न्याय हो ? उनले प्रश्न गरे।
‘नाफा हुँदा नाफा जति आयल निगमको पोल्टामा घाटा हुँदा त्यसको भार उपभोक्ताकामा, यो कहाँको न्याय हो, सभामुख महोदय’, ज्ञवालीले प्रश्न गरे । उनले तत्काल मूल्य घटाएर उपभोक्तालाई राहत दिन र सरकार भएको अनुभूति दिन आग्रह गरे । उनले आयल निगमलाई विवादित बनाउन मूल्य नघटाएको आरोप पनि लगाए ।
सांसद ज्ञवालीले निर्वाचनको सन्दर्भ जोड्दै मिति घोषणा भइसकेपछि सरकार काम चलाउ भएको र उसले संसद्लाई नयाँ ‘विजनेश’ दिन नमिल्ने जिकिर गरे । ‘कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ?’ उनले प्रश्न गरे । यस्तै उनले यस्तो अवस्थामा सदनको कार्यवधि सकिने बेलामा प्रधानन्यायाधीशमाथिको महाअभियोगको विषय ल्याउनु उचित नभएको पनि बताए ।
यस्तै सांसद ज्ञवालीले ताइवानको घटनाप्रति गम्भीर हुन आग्रह गर्दै एक चीन नीतिमा अडिक रहन सरकारसँग आग्रह गरे। आन्तरिक मामिलामा कसैले पनि हस्तक्षेप गर्न हुँदैन भन्ने धारणा सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराए । उनले देशको अर्थतन्त्र गम्भीर अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै करको दर हेरफेरका सन्दर्भमा छानविन समितिले सम्पूर्ण अङ्ग पूरा गर्न नपाएको र त्यसको असर भोलि पनि अर्थमन्त्रालयमा पर्ने दाबी गरे ।