नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ साउन ।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले विजयी सुरुवात गर्दा म्यानचेस्टर युनाईटेड भने पहिलो खेलमै पराजित भएको छ । आइतबर राति भएको खेलमा सिटीले वेस्ट ह्याम युनाईटेडलाई २-० ले पराजित गर्दा युनाईटेड भने ब्राइटनसँग २-१ ले पराजित हुन पुग्यो ।
वेस्ट ह्यामको घरेलु मैदानमा भएको खेलमा सिटीलाई विजयी गराउन एर्लिङ हालाण्डले दुई गोल गरेका हुन् । एकतर्फी खेलमा खेलको ३६ औं मिनेटमा हालाण्डले पेनाल्टीबाट गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा सिटीले थप एक गोल गर्यो । खेलको ६५ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-० को सहज जित दिलाए । प्रिमियर लिगको डेब्यु खेलमै उनले सिटीका लागि गोल गरेका हुन् । जितसँगै सिटीले ३ अंक प्राप्त गर्दै विजयी सुरुवात गर्दा वेस्ट ह्यामले भने नयाँ सिजन हारबाट सुरुवात गरेको छ ।
त्यस्तै अर्को खेलमा म्यानचेस्टर युनाईटेड ब्राइटनसँग २-१ ले पराजित भएको छ । युनाईटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा ब्राइटनलाई जित दिलाउन पास्कल ग्रोसले २ गोल गरे भने युनाईटेडलाई ब्राइटनका एलेक्सिस एलिस्टरले आत्मघाती गोल गर्दै उपहार गोल दिएका थिए । खेलको ३० औं मिनेटमा पास्कलले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । त्यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ३९ औं मिनेटमा पास्कलले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।
पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफको ६८ औं मिनेटमा ब्राइटनका एलिस्टरले आत्मघाती गोल गर्दै खेललाई २-१ मा ल्याए । त्यसपछि थप समय दुबै टोलीबाट गोल भएन र खेल ब्राइटनले २-१ ले आफ्नो पक्षमा पार्दै महत्वपूर्ण ३ अंक प्राप्त गर्यो । यता युनाईटेडले हारबाट सिजनको सुरुवात गरेको छ । यसैगरी आइतबार राति नै भएको अर्को खेलमा लेस्टर सिटी र ब्रेन्टफोर्डले २-२ गोलको बराबरी खेलेका छन् । घरेलु मैदानमा दुई गोलको अग्रता जोगाउन नसक्दा लेस्टरले बराबरी खेल्नु परेको हो ।