सत्ता गठबन्धनद्वारा गठित कार्यदलको बैठकले गर्यो यस्तो निर्णय

प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठकले कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई चयन गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

सत्ता गठबन्धनद्वारा गठित कार्यदलको बैठकमा संघीय निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने विषयमा दलहरूले आ-आफ्नो धारणा राखेका थिए । त्यस्तै बैठकमा भागबण्डाको मोडालिटीको सन्दर्भमा सामान्य छलफल भएको थियो ।



बैठकमा कार्यदलमा संलग्न सदस्यहरुले गठबन्धन गरेर अघि बढ्ने विषयमा दलगत धारणा राख्नुभएको र यसलाई निरन्तरता दिँदै आगामी बैठकमा थप छलफल गरी निष्कर्षमा पुग्ने बैठक पछि कार्यदलका सदस्य एवंम सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्यदलको अर्को बैठक यही साउन २६ गते बिहीबार साँझ ४ बजे पुनः बस्ने गरी सकिएको थियो । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि साउन २० गते बसेको सत्ता गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णयसँगै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो । गठबन्धनको बैठकमा कार्यदलमार्फत सिटको भागबण्डा मिलाउन दलहरु सहमत भएका छन् ।

सिट बाँडफाँड टुङ्ग्याउन सबै दलको प्रतिनिधित्व हुने गरी गृहकार्य गर्न ११ सदस्यीय कार्यदल बनेको थियो । ११ सदस्यीय कार्यदलमा नेपाली काँग्रेसबाट कृष्णप्रसाद सिटौला, गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की , नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ रहेका छन् । त्यस्तै एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल रहँदा जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ रहेका छन् । यस्तै राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् । कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको छ ।

सम्बन्धित समाचार