नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ साउन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आगामी मङ्सिर ४ गते प्रदेश र सङ्घीय निर्वाचनमा विचार नमिल्ने दल वा समूहसँग एमालेले गठबन्धन या तालमेल नगर्ने बताएका छन् । आज (मंगलबार) पाँचथरको फिदिममा प्रेस चौतारी पाँचथरले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
उनले एमालेले राप्रपा वा अन्य साना दलसँग मिलेर सत्तारूढ गठबन्धनसँग चुनाव लड्ने चर्चा चलेको भए पनि त्यसका लागि गृहकार्य र वार्ता सुरु नभएको बताए । नेम्वाङ्ले वर्तमान सरकारका कमीकमजोरी र विगतमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरुलाई एजेन्डा बनाएर एमाले निर्वाचनमा जाने बताए ।
त्यस्तै उनले वर्तमान सरकारले नागरिकका समस्यामा ध्यान दिन नसकेको आरोप लगाएका छन् । त्यसैगरी एमाले नेता योगेश भट्टराईले देशको आर्थिक स्थिति कमजोर बन्दै गएको भन्दै यसप्रति सरकारले ध्यान दिनुपर्ने बताए ।