बिरामी भएँ भने उपचार गराउने पैसा समेत छैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिरामी भएँ भने आफूसँग उपचार गराउने पैसा समेत नभएको बताएका छन् । आइतबार काठमाडौमा ‘युवासँग केपी ओली’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

आफू र आफ्नो श्रीमतीको नाममा रहेको सबै सम्पत्ति राज्यको नाममा गरिसकेको भन्दै ओली यदी बिरामी भएँ भने उपचार गराउन राज्य वा कसैले सहयोग गरे मात्र आफ्नो उपचार हुन सक्ने बताए । ‘मैले आफ्नो व्यक्तिगत सम्पत्ति राज्यको सम्पत्ति भनेर पास गरिदिएको छु । म देशका लागि समर्पित छु । आफू बाँचुञ्जेल घरमा बस्न पाए पनि बन्धक राख्न र बिरामी हुँदा उपचार खर्चका लागि घर बेच्न पाउँदिन’ उनले भने ।



ओलीले बिरामी भएको बेलामा पनि आफू सक्रिय हुने गरेको बताए । त्यस्तै कार्यक्रममा उनले आफूलाई वर्तमान सरकारसँग कटाक्ष गर्न मन नलागेको भन्दै वर्तमान सरकारको कार्यशैलीले गर्दा आलोचना गर्नुपरिरहेको बताए । उनले भने, ‘मैले सरकारप्रति कटाक्ष किन गर्नु ? मेरो देशमा जुनसुकै सरकार बनेपनि स्वच्छ सरकार बनोस्, हरेक नेता त्यागी होस्, आडम्बरी पाखण्डी नहोस् ।’

यस्तै ओलीले सरकारको पैसा कहाँ जान्छ भन्दै प्रश्न गरेका छन् । ‘बाटो बनाउने, पुल बनाउने पैसा छैन । मन पोल्छ, सरकारको पैसा कहाँ जान्छ ? पैसा कसरी हरायो ? अलच्छिन कहाँबाट पस्यो ?’ ओलीले भने । ओलीले आफू युवाहरू जत्तिकै सक्रिय रहेको पनि बताए । ‘म युवाभन्दा कम सक्रिय छैन । मसँग बसेर काम गर्ने युवा मेरो साथमा रहँदा थाक्छन् म थाकेको छैन,’ ओलीले भने ।

सम्बन्धित समाचार