नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ साउन ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौँमा फोहर नउठेको आज ७१ दिन भइसक्दा पनि सरकारबाट कुनै पहल नभएको जनाउँदै काठमाडौँवासीमा हैजा र झाडापखाला हुनसक्ने खतरा उत्पन्न भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले एमालेसँग सहकार्य गरे काठमाडौको फोहोर व्यवस्थापन हुने बताए । उनले सांस्कृतिक सहर काठमाडौँको विकासका लागि एमालेसँग सहकार्यमा आउन महानगर प्रमुख बालेन्द्र शाह(बालेन)लाई आग्रह पनि गरे । भट्टराईले भने, ‘म बालेन साहलाई भन्न चाहन्छु, ठोस प्रस्तावसहित आउनुस्, एमालेसँग त्यो भिजन र दृष्टिकोण छ । एमाले पूर्ण क्षमताका साथ सहयोग गर्न तयार छ । यदि तपाईं सरकारको भर पर्नुभयो भने तपाई असफल हुने निश्चित छ । काठमाडौंको बर्बादी हुनेछ ।’
भट्टराईले ७१ दिनदेखि काठमाडौंको फोहोर नउठेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारका मन्त्रीहरुले कुनै पहल नगरेको आरोप लगाए । ‘फोहोर नउठेको आज ७१ दिन भयो, प्रधानमन्त्रीले पहल गर्नुभएको छैन । सम्बन्धित मन्त्रीहरु बेखबर छन् । झाडापखाला, हैजा लगायतले काठमाडौ डुङडुङती गन्हाउने अवस्था भएको छ’, भट्टराईले भने । यस्तै एमालेका सांसद भूमि त्रिपाठीले पनि काठमाडौँका सडकमा देखिएका फोहरका थुप्रोले यहाँको सभ्यतामा प्रश्नचिह्न खडा गरेको बताए ।