नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० साउन ।
प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको तेस्रो बैठक बस्दै छ । आज (सोमबार) अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ ।
आजको बैठकमा सिटबाँडफाँडको आधार र मापदण्ड तय गर्ने कार्यदलको तयारी छ । यसअघि साउन २६ गते बसेको दोस्रो बैठकमा सिट बाँडफाँटको सहमतिका लागि मोडालिटी बनाउनेबारे छलफल भएको थियो । बैठकमा सिट बाँडफाँटमा वर्तमान संसदको उपस्थितिलाई मुख्य आधार बनाउने समझदारी पनि भएको थियो । आइतबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँट चाँडै टुंगो लगाउन कार्यदललाई निर्देशन दिएको थियो ।
त्यस्तै पहिलो बैठकले कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई चयन गर्ने निर्णय गरेको थियो । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि साउन २० गते बसेको सत्ता गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णयसँगै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो । गठबन्धनको बैठकमा कार्यदलमार्फत सिटको भागबण्डा मिलाउन दलहरु सहमत भएका छन् ।
सिट बाँडफाँड टुङ्ग्याउन सबै दलको प्रतिनिधित्व हुने गरी गृहकार्य गर्न ११ सदस्यीय कार्यदल बनेको थियो । ११ सदस्यीय कार्यदलमा नेपाली काँग्रेसबाट कृष्णप्रसाद सिटौला, गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की , नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ रहेका छन् । त्यस्तै एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल रहँदा जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ रहेका छन् । यस्तै राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् । कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको छ ।