नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ भदौ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान घोषणा गरेको छ । शनिबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेसले निर्वाचन लक्षित अभियान ‘जनताको साथमा कांग्रेस’ घोषणा गरेको हो ।
कांग्रेसले आगामी भदौ १० गते २४ गतेसम्म पहिलो चरणको अभियान सञ्चालन गरिने पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । उक्त अभियानमा ७७ जिल्लामा नै केन्द्रीय प्रतिनिधि खटाइने महतले बताए । त्यस्तै कांग्रेसले केन्द्रीय प्रतिनिधिका लागि आइतबार अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।
यस्तै महतले केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधि लगायतको बैठक बोलाउने जानकारी दिए । यो अभियानका लागि प्रदेश समिति र जिल्ला समितिले समेत मातहतमा प्रतिनिधि खटाउन सक्ने महतले बताए । ‘नेपाली कांग्रेसको नेतृत्वमा के–के काम भए भनेर जनतामा प्रस्तुत हुन्छौँ । तालमेल गरेर जाने विषयमा जानकारी लिनेछौँ र यसको आवश्यकताको बारेमा पनि चर्चा गर्नेछौँ ’ महतले भने ।