नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ भदौ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार ललितपुरको हात्तीवनमा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।
भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको पनि सहभागिता रहेको थियो । भेटमा एकता संयोजन समिति गठन गर्ने र मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एउटै घोषणापत्र लिएर निर्वाचनमा जान सहमत भएका हुन् । यस्तै दुवै नेताबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा पनि छलफल भएको छ ।
त्यस्तै छलफलमा दुई पार्टीको एकता भने निर्वाचनपछि मात्रै हुने सहमति भएको छ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले एउटै घोषणापत्र लिएर निर्वाचनमा जाने सहमति भएको बताए । उनले निर्वाचनपछि पार्टी एकता हुने भन्दै केही दिनभित्रै पार्टी एकताका लागि एकता संयोजन समिति बन्ने जानकरी दिए । यता नेकपा एकीकृत समाजवादीले भने यसअघि नै एकता संयोजन समिति बनाईसकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्नु अगाडी प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भएको हो ।