नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ भदौ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकको विषय नेकपा एमालेले गलत ढङ्गले प्रचार गरिएको बताएका छन् । बुधबार भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
प्रचण्डले एमालेले प्रचार गरेजस्तो नागरिकता विधेयक राष्ट्रघाती नभएको बताए । उनले नागरिकता विधेयकलाई एमालेले भ्रम छर्ने काम गरेको भन्दै नागरिकता विधेयक गलत ढङ्गले र गलत उद्देश्यका निम्ति प्रचार गरिएको बताए । अध्यक्ष दाहालले भने, ‘अहिलेको विधेयकमा आमाबावु दुवै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने कुरा मात्रै हो । तर विदेशीलाई नागरिकता दिन खोजियो भनेर भ्रम छर्ने काम भएको छ ।’
त्यस्तै उनले झण्डै छ-सात लाख नेपाली आमाबावु दुवै नेपाली हुँदाहुँदै पनि नागरिकताबाट बञ्चित रहेको बताएका छन् । ‘आमाबाबु दुवै नेपाली छन्, तिनका छोराछोरीले नागरिकता नपाएर अवसरबाट बञ्चित छन् । त्यो स्थिति अन्त्य गर्ने यो विधयेक हो ‘ त्यसकारण यसलाई राष्ट्रघाती भन्नु पाखण्डबाहेक केही हुँदैन’ प्रचण्डले भने ।