नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ भदौ ।
सत्ता गठबन्धनको बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको विषय चाँडै टुंग्याउने सहमति भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो सहमति गरेको हो ।
बैठकमा सिट बाँडफाँटका विभिन्न मोडालिटीबारे छलफल भएको र चाँडै निष्कर्षमा पुग्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । भदौ ९ गतेभित्र सिट बाँडफाँट टुंग्याउने सहमति भएको जनमोर्चाका नेता हिमलाल पुरी जानकरी दिए ।
बैठकमा नेपाली कांग्रेसका सभापरी एवं प्रधानमन्त्रीशेरबहादुर देउवा, कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताको सहभागिता थियो । यता सिटौला भने स्वास्थ्यमा समस्या देखिएपछि सत्ता गठबन्धनको बैठकबाट बाहिरिएका थिए । सत्ता गठबन्धनको बैठक बुधबार साँझ ५ बजे बस्नेछ ।