प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार बिहान एमाले अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

भेटमा समसामयीक राजनीतिका विषय र मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको विषयमा छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री देउवाले भेट्न बोलाएकोले ओली बुधबार बिहान ९ बजे बालुवाटार पुगेका हुन् ।



भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र उपमहासचिव विष्णु पौडेल पनि सहभागी थिए । गठबन्धनका दलहरुबीच सिट बाँडफाँटमा सहमति नजुटेको बेलामा देउवा र ओलीबीचको भेटलाई महत्वको रुपमा हेरिएको छ । त्यस्तै ओलीले निष्पक्ष र शान्तिपूर्ण निर्वाचन प्रक्रिया, नागरिकता सम्बन्धि र महँगीका विषयमा प्रधानमन्त्री देउवा समक्ष जिज्ञासा राखेको सञ्चारमन्त्री कार्कीले जानकरी दिए ।

प्रधानमन्त्री देउवाले ओलीले उठाएको चार विषयलाई सकारात्मक रूपमा लिएको भन्दै यस विषयमा गठबन्धनको बैठकमा पनि कुरा राख्ने बताए । ‘तपार्ईँले राखेका कुरामा मैले सकारात्मक रुपमा लिएको छु । गठबन्धनको मिटिङमा यी सबै विषयको कुरा राखौंला’ देउवाले भने । यस्तै एमाले उपाध्यक्ष विष्णु पौडेलले चुनाव आउन बाँकी रहेको भन्दै गठबन्धनले दम्भ प्रदर्शित गरेको विषयमा प्रधानमन्त्रीलाई जानकरी गराएको बताए ।

सम्बन्धित समाचार