बालेनले अल्फाबिटाका निर्देशकलाई घरको नक्सा मसँग हुन्छ कि तपाईसँग ? भनेपछि…

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)को नेतृत्वले नयाँबानेश्वरस्थित शङ्खमूल बर्गर हाउस र अल्फाबिटा कम्प्लेक्सको अण्डरग्राउण्ड तत्काल खाली गर्न निर्देशन दिएको छ । बिहीबार नयाँ बानेश्वरस्थित बिजुलीबजारमा रहेको अल्फाबिटा कम्प्लेस र शंखमूलस्थित शङ्खमूल बर्गर हाउस अवलोकन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

त्यस क्रममा भवनको नक्साको विषयलाई लिएर अल्फाबिटा कम्प्लेक्सका निर्देशक द्विराज शर्मासँग झोक्किएका छन् । बालेनले शर्मासँग घरको नक्सा मागेपछि अल्फाबिटाकाका निर्देशक शर्माले अहिले आफूसँग नक्सा नभएको भन्दै उल्टै महानगरका मेयर शाहसँग हुनुपर्ने भनेपछि बालेन झोक्किएका हुन् । शर्माले संरचना हटाउनका लागि आफूलाई नगरपालिकाबाट कुनै सूचना नआएको बताएका थिए । उनले महानगरको ३५ दिने सूचना थाहा नपाएको बताए।



‘तपाईंको घरको नक्सा मसँग हुनुपर्ने कि तपाईंसँग ?’ भन्दै बालेन झोक्किए । अल्फाबिटाले भवनको पार्किङ स्थलमा सटर निकालेर ‘ल्याब’ सञ्चालन गरिएको छ । त्यस्तै आजै शंखमूलस्थित अन्डरग्राउन्डमा सञ्चालित बर्गर हाउस हटाउन निर्देशन दिइएको छ । शङ्खमूलको बर्गर हाउस बेसमेन्ट पार्किङमा सञ्चालित छ । यी दुवैलाई तत्काल हटाउन बालेनले निर्देशन दिएको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

त्यसैगरी अहिले नगर प्रहरी प्रमुखसहितको टोली गौशाला पुगेको छ टोलीले त्यहाँ मुक्तिनाथ विकास बैङ्क रहेको भवनको बारेमा जानकारी लिने र आवश्यकता अनुरूपको निर्देशन र कारबाहीको प्रक्रिया अघि बढाउने बताइएको छ । अवैध संरचना हटाउने क्रममा कामपाले यसअघि बुधबार काठमाडौं मल र न्युरोडको आरबी कम्प्लेक्स लगायतको अनधिकृत संरचनामा डोजर चलाएको थियो ।

सम्बन्धित समाचार