नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ भदौ
नेकपा एमालेको पोलिटब्युरो बैठकले भोलिदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटीको पाँचौँ बैठकमा ११ वटा एजेण्डा तय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले ११ वटा एजेण्डा तय गरेको हो ।
पोलिटब्युरो बैठकले भोलि प्रस्तुत हुने एजेण्डा पनि पारित गरेको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी गराएका थिए । भोलिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्ने पहिलो एजेण्डा रहेको छ भने आगामी निर्वाचनको तयारी, निर्वाचनमा उमेदवारको छनोटसम्बन्धी मापदण्डलगायतका बैठकको एजेण्डा रहेको छ ।
त्यस्तै केन्द्रीय कमिटी बैठकमा थपिएका चार जना केन्द्रीय सदस्यको सपथ र कार्यविभाजन, सचिवालयले गरेका निर्णयहरुको अनुमोदन, उम्मेदवार छनोट प्रक्रिया र मापदण्ड, स्थानीय चुनाव भएको अन्तरघातबारे छानबिन गर्न बनेको कार्यदलको प्रतिवेदन पेश गर्ने पनि एजेण्डा रहेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए । यस्तै दोहोरिएका पार्टी संगठित सदस्यलाई व्यवस्थापन गर्ने, केन्द्रीय सल्लाहकार परिषद र तीन आयोगको रिपोर्ट अनुमोदन गर्ने, भारत प्रवासको नियमावली पास गर्ने, एमालेले पार्टी विभाग परिचालनका सम्वन्धमा केही नियमहरु पारित गर्नेलगायतको एजेण्डा तय भएको छ ।
ओलीको प्रतिवेदनमाथि १५ जना पोलिटव्युरो सदस्यहरुले राय सुझाव पेस गरेको गुरुङले जानकारी दिए ।