नवकान्तिपुर संवाददाता
काठमाडौं, १० भदौ ।
प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक बस्दैछ । आज (शुक्रबार) अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
बैठकमा सिट बाँडफाँटको विषयमा छलफल हुने बताइएको छ । यस अघि बिहीबार बसेको कार्यदलसहित गठबन्धनमा आवद्ध शीर्ष नेताहरूको बैठकमा सत्ता गठबन्धन आवद्ध पाँच दलले आ-आफ्नो दाबी प्रस्तुत गरेका थिए । उक्त विषय टुङ्ग्याउनको लागि आजको बैठक बस्न लागेको हो ।
बिहीबार बसेको कार्यदलको बैठकमा काँग्रेसले प्रतिनिधिसभाका १६५ सिटमध्ये १०० सिट र माओवादीले ६० दाबी गरेको छ । त्यस्तै एकीकृत समाजवादीले ४०, जसपाले ३२, र जनमोर्चाले ३ सिटमा दाबी गरेको छ । बैठकमा १६५ वटा निर्वाचन क्षेत्रका विषयमा दलगत अध्ययन प्रस्तुत भएपनि अन्तिम ड्राफ्ट गर्न बाँकी रहेको छ ।