नवकान्तिपुर संवाददाता
काठमाडौं, १० भदौ ।
नेकपा एमालेको केन्द्रीय समिति बैठक जारी छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक जारी रहेको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले १९ पृष्ठ लामो आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले राष्ट्रियताको रक्षा, लोकतन्त्रको सुदृढीकरण र समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा एमाले प्रतिबद्ध रहेको भन्दै एमालेको एजेण्डामा सहमत हुनेहरूसँग सहकार्य गर्न सकिने बताए । ओलीले आफूहरू विरुद्ध घेराबन्दी भएको भन्दै अहिले भइरहेको राजनीतिक ध्रुवीकरण चुनौतीपूर्ण भएपनि दीर्घकालीन रुपमा सकारात्मक रहेको प्रतिवेदनमा समेटिएको छ ।
प्रतिवेदनमा ओलीले एमाले सरकारले गरेको कामको प्रचार गर्ने, गठबन्धनको भयबाट मुक्त हुने, नयाँ पुस्तामा विशेष ध्यान दिनेजस्ता योजना पनि उल्लेख छ। त्यस्तै ओलीले बहुमतका लागि एमालेलाई १६ प्रतिशत मत मात्र अपुग रहेको बताएका छन् । ओलीले सरकार गठन हुनुभन्दा अगाडि नै गठबन्धनका नेताहरूले आफूहरू बाह्य शक्तिहरूका. ‘कम्फर्टेबल’ हुने वचनबद्धता व्यक्त गर्दै सरकार गठनका लागि सहयोग मागेको भन्दै वर्तमान सरकारप्रति कटाक्ष गरेका हुन् ।
‘सरकार गठन हुनुभन्दा अगाडि नै गठबन्धनका नेताहरूले बाह्य शक्तिहरूका ‘कम्फर्टेबल’ हुने वचनबद्धता व्यक्त गर्दै सरकार गठनका लागि सहयोग मागेका थिए सरकार गठन भए यसका क्रियाकलापहरू एकपछि अर्को गर्दै नेपालको राष्ट्रिय हितमा बाधा पुर्याउन बाह्य शक्तिहरुलाई रिझाउने र छिमेकीहरूसँग सम्बन्धको सन्तुलनलाई खल्बल्याउने कुरामा केन्द्रित रहे’ ओलीले भनेका छन् ।
ओलीले आफ्नो प्रतिवेदनमा लोकतन्त्रको पहिलो मान्यता भनेकै फरक विचार या मतलाई स्वीकार्नु भएपनि गठबन्धनले फरक विचार र मतलाई अस्वीकार गर्ने गरेको बताएका छन् ।
यस्तो छ ओलीको राजनीतिक प्रतिवेदन