नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ भदौ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच राजनीतिक दलको गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढङ्गले अघि बढ्ने बताएका छन् । आज (शनिबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री कार्कीले आगामी निर्वाचनका विषयमा गठबन्धन दलले न्यायोचित ढङ्गले उम्मेदवारको सीट बाँडफाँट गर्ने जानकारी दिए । उनले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न पनि गठबन्धन आवश्यक रहेको बताए ।
नागरिकता विधेयक राष्ट्रपतिबाट केही सन्देशसहित फिर्ता आएको र सो विधेयक प्रतिनिधिसभाबाट पारित भइ राष्ट्रियसभाबाट पनि पारित हुने उनले विश्वास व्यक्त गरे । मन्त्री कार्कीले नागरिकता विधेयकसम्बन्धमा राष्ट्रपतिबाट भएको छलफल एवं भेटघाट सामान्य कुरा भएको र राष्ट्रपतिलाई कुनै पनि विषयमा छलफल र परामर्श लिने सुविधा भएको उल्लेख गरे ।