नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ भदौ ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ । आज (शनिबार) अध्यक्ष ओलीले शुक्रबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको हो ।
शुक्रबारदेखि ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा सुरु भएको बैठक आज समापन हुनेछ । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गरिने एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
बैठकमा दश समूह विभाजित केन्द्रीय सदस्यले राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गरेर सुझाव दिनेछन् । समूहगत छलफलका लागि प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशसहित सम्पर्क समन्वय, उपत्यका विशेष, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, जनसंगठन तथा प्रवास र केन्द्रीय विभाग छुट्टाइएको छ । समूहगत छलफलपछि आएको सुझावको आधारमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित गरेर बैठक सकिने छ ।