नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछाडि ‘बा’ भएकाहरूलाई स-सम्मान बिदा गर्न आग्रह गरेका छन् । शनिबार काठमाडौँको खुल्ला मञ्चमा आयोजित पार्टीको सभामा लामिछानेले यस्तो आग्रह गरेका हुन् ।
उनले आगामी निर्वाचनमा मुख्य पार्टीका प्रमुख नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई विदा गर्नुपर्ने बताएका छन् । तीन ‘बा’हरू केपी बा, देउवा, नानीका बा । पछाडि ‘बा’ भएकाहरूलाई स-सम्मान बिदा गरौँ किनकि अगाडि ‘बा’ भएकाहरू डोजर लिएर निस्किसके । अब पछाडि ‘बा’ भएकाहरूलाई स-सम्मान बिदा गर्ने बेला भएको छ ‘ लामिछानेले भने ।
त्यस्तै उनले अहिलेको जस्तो घिनलाग्दो राजनीति जान्न र सिक्न आवश्यक नभएको बताए । लामिछानेले टुक्राटाक्री परेका पाँच दल गठबन्धन गरी जनतामा जानु ठगी भएको भन्दै आगामी निर्वाचनमा लाज नपचेका नकचराहरूलाई एक–एक गरेर बिदा गर्नुपर्ने बताएका छन् । उनले काठमाडौँका मेयर बालेन शाहको पनि प्रशंसा गरेका थिए । उनले जनताको छोरो डोजर लिएर जाँदा कानुनी छिद्र खोजेर काम गर्न नदिने प्रयास भइरहेको बताए ।