केन्याविरुद्ध नेपालको जित

नेपाल केन्याविरुद्धको तेस्रो टी-२० खेलमा विजयी भएको छ । आइतबार भएको खेलमा नेपालले घरेलु टोली केन्यालाई ४ विकेटले पराजित गरेको हो ।

केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १५६ रन बनाएको थियो । केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय पारी खेल्दै क्रमश: ७३ र ५५ रनमा अविजित रहे । त्यस्तै कोलिन्स ओबुया १८ रन बनाई आउट भए भने सुखदिप सिंहले ८ रन जोडे । नेपालका लागि सोमपाल कामी र आदील अन्सारीले समान १-१ विकेट लिए ।



१५७ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ४६ रन बनाए भने डेब्यु खेलाडी अर्जुन साउदले ३५ रन बनाए । यस्तै रोहित पौडेल २९ रन बनाई आउट भए भने पवन सर्राफले २० र आदील अन्सारीले १६ रन जोडे । केन्याका लागि भिराज पटेल र युगिनी ओचिङले समान २-२ विकेट लिए भने इमान्युएल बुन्डी र कोलिन्स ओबुयाको भागमा समान १-१ विकेट रह्यो । नेपालले टी-२० अन्तराष्ट्रियमा पूरा गरेको यो सर्वाधिक ठूलो लक्ष्य हो । यसअघि नेपालले सन् २०१९ मा सिंगापुरविरुद्ध १५२ को लक्ष्य पूरा गरेको थियो ।

जितसँगै पाँच खेलको सिरिजमा नेपालले २-१ को अग्रता बनाएको छ । पहिलो खेलमा केन्यालाई ५ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा भने केन्यासँग १८ रनले हारेको थियो । अब नेपालले चौथों खेल भदौ १३ मा र पाँचौं तथा अन्तिम टी-२० खेल भदौ १४ मा खेल्ने तालिका रहेको छ । यस्तै नेपालले केन्याविरुद्धको पहिलो एकदिवसीय भदौ १७ मा, दोस्रो एकदिवसीय भदौ १८ र अन्तिम एकदिवसीय भदौ २० मा खेल्नेछ ।

 

सम्बन्धित समाचार