त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न सभामुखले सरकारलाई रुलिङ गरेपछि…

सभामुख अग्नि सापकोटाले त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न रुलिङ गरेका छन् । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दीप्रति संसदको ध्यानाकर्षण गराएका थिए ।

उनले त्रिभुवन विश्वविद्यालयको समस्या समाधानका लागि रुलिङ नभएसम्म संसदको बैठक सञ्चालन हुन नसक्ने बताउँदै एमालेका सबै सांसद आआफनो स्थानबाट उठेपछि सभामुख सापकोटाले त्रिभुवन विश्वविद्यालयमा भएका तालाबन्दी लगायत विरोधका कार्यक्रमले शैक्षिक एवं पठनपाठन प्रभावित भएको भन्ने विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै यो समस्या शीघ्र समधान गर्न सरकारलाई निर्देशन दिए ।



‘त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दी लगायतका विरोध कार्यक्रमहरुले विश्वविद्यायका शैक्षिक एवं पठनपाठन कार्य प्रभावित हुन गएको भन्ने विषयमा माननीय सदस्यले कुरा उठाउनु भएको छ । सभाको गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ यो समस्या शीघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देश गर्दछु ’ सभामुख सापकोटाले भने ।

त्यसअघि ज्ञवालीले त्रिविमा गुण्डागर्दी बढेको, अराजकता बढेको, पठनपाठन अवरुद्ध भएको भन्दै सदनको ध्यानाकर्षण गराउदै सभामुख समक्ष ‘रुलिङ’ को मागका थिए । उनले सत्तारुढ निकट भ्रातृ संस्था र व्यक्तिबाट त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी र तोडफोड, तथा पदाधिकारीमाथि आक्रमणको प्रयास गरिएको भन्दै पवित्र एवं प्राज्ञिक शैक्षिक संस्थामाथिको यस प्रकारको क्रियाकलाप निन्दनीय भएकाले दोषीमाथि कारबाही गर्न माग गरे ।

विश्वविद्यालयका प्राध्यापकलाई कुटपिट गर्नेमाथि प्रहरीले संरक्षण गर्ने, महान्यायाधिवक्ताको कार्यालयले मुद्दा फिर्ता लिनेजस्ता कार्यले स्वदेशभित्रको उच्च शिक्षा खस्कँदो र अध्ययनका नाममा पुँजी पलायन हुन थालेकामा चिन्ता व्यक्त गरे । ज्ञवालीले तीन वर्षमा तीन सय दिन तालाबन्दी भएपछि विश्वविद्यालको हालत के होला भन्ने प्रश्न गर्दै विद्यार्थीलाई सुरक्षा र प्राज्ञिक स्वतन्त्रताको रक्षा गर्नुपर्नेमा यस्ता व्यवहारले शैक्षिक उन्नयन कसरी हुन्छ भन्ने बताए ।

सम्बन्धित समाचार