नेपाल केन्यासँग पराजित

नेपाल केन्याविरुद्धको चौथों टी-२० खेलमा पराजित भएको छ । सोमबार भएको खेलमा नेपाल घरेलु टोली केन्यासँग ७ रनले पराजित भएको हो ।

केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रनमा समेटिएको थियो । केन्याका लागि लुकास ओलुओचले ३३ रन बनाए भने कोलिन्स अबुयाले २० रन जोडे । त्यस्तै कप्तान शेम एन्गोचेले १३ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए भने आदील अन्सारीले २ विकेट लिँदा साहब आलम र दीपेन्द्र सिंह ऐरीको भागमा समान १-१ विकेट रह्यो ।



१०२ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो । नेपालका लागि रोहित पौडेलले ४७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । नेपालका अन्य कुनै खेलाडीले दोहोरो अंक छुन समेत सकेनन् । केन्याका लागि रकिप पटेलले ३ विकेट लिए भने भिराज पटेल, शेम एन्गोचे र एलिज्ह ओटिनोको भागमा समान २-२ विकेट रह्यो ।

जितसँगै केन्याले ५ खेलको सिरिजमा २-२ को बराबरी गरेको छ । बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा घरेलु टोली केन्याले नेपाललाई १८ रनले हराएको थियो । त्यस्तै तेस्रो खेलमा केन्यालाई ४ विकेटले हराएको नेपाल चौथों खेलमा भने केन्यासँग ७ रनले पराजित भएको हो । अब नेपालले पाँचौं तथा अन्तिम टी-२० खेल आज खेल्ने तालिका रहेको छ । यस्तै नेपालले केन्याविरुद्धको पहिलो एकदिवसीय भदौ १७ मा, दोस्रो एकदिवसीय भदौ १८ र अन्तिम एकदिवसीय भदौ २० मा खेल्नेछ ।

 

सम्बन्धित समाचार